
२८, जेठ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। सामाखुसी कोरिडोरको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा उनीहरूमाथि ४ करोड ३१ लाख ७२ हजार २८७ को सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोप छ।
काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक परियारसहित निर्देशक रबीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध मुद्धा दर्ता भएको हो ।
ठेक्का प्रक्रियामा समानान्तर सेवा प्रा।लि।लाई सबैभन्दा कम कबोल रकम १८ करोड ९ लाख २२ हजार तीन सय २५ प्रस्ताव गरेको भए पनि ‘पेन्डिङ लिटिगेसन’ को गलत व्याख्या गरी अयोग्य ठहर गर्दै दोस्रो कम कबोलकर्ता कल्पवृक्ष–कोहिनूर जे।भी। ९रु. २२ करोड ४० लाख ९४ हजार छ सय १२ लाई ठेक्का दिएको आयोगले जनाएको छ । यसबाट महानगरपालिकालाई ४ करोड ३१ लाखभन्दा बढीको नोक्सानी भएको आयोगको ठहर छ।
