मन्त्रिमण्डल पुनर्गठन हुन सक्छ : सञ्चारमन्त्री गुरुङ

१५ साउन,काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनाको सङ्केत गरेका छन्। लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताए।

आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफमा मन्त्री गुरुङले भने, ‘सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ,यो अस्वाभाविक पनि होइन।

उनले नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे।यद्यपि, मन्त्री गुरुङले सत्ता साझेदार दलहरू एमाले र कांग्रेसबीच अहिले नै अविश्वासको अवस्था पैदा नभएको स्पष्ट पारे।

मन्त्रिपरिषद्का मुख्य निर्णयहरूः

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय पनि सार्वजनिक गरे।

बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताए।

राज्यकोषबाट लगानी भएका प्रतिष्ठान,बोर्ड,समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न  पर्वतका रामुप्रसाद डोटेलको संयोजकत्वमा दोलखाका रमेशप्रसाद शिवाकोटी र ललितपुरका चण्डीप्रसाद घिमिरे सदस्य रहेको कार्यदल गठन गरिएको छ।