पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशनः वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नु

१६ भर्दौ, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता,कार्यकर्तालाई निर्देशन दिएका छन्।

सोमवार च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकको विमोचन गर्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराएका हुन् ।

अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताए।

उनले पार्टीको नीतिअनुसार जनमत तयार गर्न नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको समस्या ठूलो रहेको जिकिर गर्दै त्यसलाई अन्त्य गर्ने गरी पार्टी कामलाई तल्लो तहसम्म पुर्‍याउन आवश्यक रहेको पनि बताए।

कार्यक्रममा महासचिव पोखरेलले वडालाई पार्टी कामको केन्द्रबिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न सकिने स्पष्ट पारे।

महासचिव पोखरेलले जतिवेला एमालेको नीति राष्ट्रको नीति बन्ने अवस्था आउँछ त्यसवेलामात्र एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नेसमेत दाबी गरे ।