एमाले विधान महाधिवेशनमा शनिबार प्रतिवेदनमाथि समूहगत छलफल सुरु

२१ भदौ,काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशन आज शनिबार पनि जारी छ ।ललितपुर,गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन बाँकी प्रतिवेदनको प्रस्तुतीकरण भइरहेको छ।बिहान ८ : ३० बजेदेखि महाधिवेशन सुरु भएको छ ।

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल,केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको एमाले प्रभार विभागले जनाएको छ।

समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुदैछ ।
महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ।

विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीकाे सदस्यता राेक्न नहुने मागसहित प्रस्तुत भएकाे फरक प्रस्तावमाथि पनि छलफल हुनेछ।

महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए।

महाधिवेशन भोलि आइतबार सम्पन्न हुने एमालेका नेताहरुले जानकारी दिएका छन्।