
मनिषा गुरुङ
२ असोज,पोखरा ।मेयर धनराज आचार्यले यहि भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा पोखरा महानगरपालिकाको कार्यालय जलाउने प्रदर्शनकारी जेनजी नभएर विभिन्न राजनीतिक दलका नेता,कार्यकर्ताहरु र लामो समयदेखि पोखरामा विभिन्न पेशा व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरु भएको बताएका छन् ।
महानगरपालिकाका विभिन्न सिसीटिभी फुटेजहरु हेर्दा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरु विभिन्न राजननीतिक दलका नेताकार्यकर्ता,पेशाव्यवसायी र समाजीक अभियन्ताहरुलगायतका व्यक्तिहरु रहेको पुष्टि भएको र आफुले उनीहरुलाई चिनिरहेको पनि उनले बताए ।
बुधबार पोखरेली सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आगजनीमा परेर भवन पूर्णरुपमा क्षतीभएको,५० वर्षदेखिका सम्पूर्ण अभिलेखहरु जलेर नष्ट भएको र १ लााख नक्साहरु सबै जलेको समेत जानकारी दिए ।
साथै तीन दर्जनभन्दा बढी मोटरसाइकलहरु र १ दर्जनभन्दा बढी गाडीहरुमा आन्दोलनकारीहरुले आगो लगाएर खरानी बनाएको पनि उनले जानकारी दिए ।पोखराका २६ वटा वडाहरुमा पनि आगजानी र तोडफोड गरि पूर्णक्षति पु¥याइएको भन्दै यस प्रकारको विध्वंसको उनले खेद प्रकट गरे ।
क्षतिपश्चात महानगर कार्यालयका केही कामहरु सभागृह भित्रबाट र शान्ति वनबाटीका नजिकैको पुलिस व्यारेकका लागि बनाईको नयाँ भवनबाट सेवा सूचारु गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।
मेयर आचार्यले यसप्रकारको आतंक र लुटपाटमा संलग्नहरुको सम्पूर्ण प्रमाण जुटाइसकेको र उनीहरुको रेकड राखिएको भन्दै यसका आधारमा उनीहरुलाई सार्वजनिक अपराध अनुरुप उचित कारवाही गर्न नयाँ बनेको अन्तरिम सरकारसँग माग समेत गरेका छन् ।
