ठूला राजनीतिक दलका शीर्ष नेताले लोकतन्त्र असफल बनाए, बिदा गरौं : राजनीतिक विश्लेषक पुरञ्जन आचार्य

मनिषा गुरुङ

२ असोज,काठमाडौं ।वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएको बताएका छन्।

ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वका कारण लोकतन्त्र असफल भएको जिकिर गर्दै उनले ती नेताहरु असफल भएकाले अब राजीनामा दिनुपर्ने बताए।

‘उनीहरूको नेतृत्वमा लोकतन्त्र असफल भएको छ।उनीहरूको विरुद्धमा जनता सडकमा निस्किएका छन्,जसको सरकार हुँदा गोली चलेको छ’ उनले भने, ‘एकातिर कांग्रेस र एमाले त सरकारको पतनसँगै राजीनामा पनि आफ्नो पार्टीमा सँगसँगै बुझाउनुपर्ने हो।’

विश्लेषक आचार्यले सत्ता बाहिर रहेको माओवादी केन्द्रका नेताले पनि यसअघि नै राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।तीन दलका कार्यकर्ताहरूले आफ्ना शीर्ष नेताहरूलाई पार्टीबाट बिदाइ गर्नुपर्ने आवश्यकता रहेको पनि उनले जिकिर गरेका छन् ।

उनले जेनजी पुस्ताले देशको समस्या बुझेर आन्दोलन गरेको यो आन्दोलन भविष्यउन्मुख रहेको र कुनै लोभ र लालचबिना नै गरिएको आन्दोलन भएको समेत बताएका छन् । 

विश्लेषक आचार्यले नेपालको अहिलेसम्मको पुस्ताले नबुझेको समस्या जेन जी पुस्ताले बुझेको भन्दै जेनजीहरुको तारिफ गरेका छन्।