
२१ जेठ, काठमाडौं । हाल मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव छ ।
जसको प्रभावले मौसम परिवर्तन भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र केही जिल्लामा आज बिहिबार तातो दिन हुने सम्भावना रहेको जनाएको छ । हिमाली तथा पहाडी भागका केही स्थानमा भने पानी पर्नेछ ।
दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
हिमाली तथा पहाडी भागका केही तथा मधेश र कोशी प्रदेशका तराईका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने माहाशाखाको भनाई छ ।
कोशी र मधेश प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
त्यसैगरी,देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
