
१९ असोज,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्लो दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट धेरै कमजोरी भएको स्वीकारेका छन्।
कांग्रेसले राजनीतिक उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको,नीतिगत सहकार्यलाई लेनदेनमा सीमित गरेको,सार्वजनिक नियुक्तिमा भागबन्डा खोजेको र आफ्ना पक्षका व्यक्तिलाई जोगाउने प्रवृत्ति अपनाएको उनको स्पष्टोक्ति छ।
यस्ता अभ्यासले कांग्रेसको विश्वसनीयता मात्र गुमाएको नभएर सार्वजनिक संस्थाको स्वायत्तता र राजनीतिक दलप्रतिको नागरिक भरोसासमेत कमजोर बनाएको उनको भनाई छ।
कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेका राजनीतिक परिवर्तनका उपलब्धिलाई अस्वीकार गर्न नहुने, तर ती उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने परिणाममा बदल्न नसक्नु नै पार्टीको प्रमुख कमजोरी भएको उनले औँल्याएका छन्।
देशका विभिन्नन राजनीतिक आन्दोलनले शान्ति,लोकतन्त्र,समावेशिता र नयाँ अवसरको अपेक्षा जगाएको तथा शान्ति प्रक्रिया,संविधानसभा र २०७२ को संविधानले त्यसलाई संस्थागत आधार दिइ सङ्घीय लोकतान्त्रिक गणतन्त्र,मौलिक हक,प्रतिनिधित्व र स्थानीय सरकारको विस्तारलाई महत्त्वपूर्ण उपलब्धि हाँसिल गराएतापनि नागरिकको न्यायमा सहज पहुँच,गुणस्तरीय शिक्षा,भरपर्दो स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र आफ्नै देशमा भविष्य खोजेको विषयलाई सम्बोधन गर्न नसकिएको पनि उनले स्वीकार गरेका छन्
संविधानमा अधिकार थपिएपछि सरकारी कार्यालयमा अपमान घट्ने,प्रतिनिधित्व,उद्यम तथा रोजगारी जस्ता विषयमा ध्यान नदिँदा अपेक्षा र पार्टीबिचको दूरी घट्दै गएको उनले बताएका छन्।
संविधान निर्माणपछि कांग्रेसले मुलुकको प्राथमिकता बदल्न नसकेको पनि थापाले स्वीकार गरेका छन्।
