काठमाडौं महानगरका ४ वटा वडाका ९२२ जना महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर परीक्षण

काठमाडौं।काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले महानगरपालिकाका ४ वटा वडाका महिला जनप्रतिनिधि र  कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको निशुल्कः परिक्षण गराएको छ ।

महानगरका ३१, २५, २७ र ३० नंं वडामा गरिएको निशुल्कः स्वास्थ्य शिविरमा जाँच गराउनेहरु मध्ये ७७९ जनाको रिपोर्ट आइसकेको विभागले जनाएको छ ।रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिएकी छन् ।

यस्तै रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सुनिता लम्साल काअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमुना निकाल्ने) गरिएको छ ।बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ ।महानगरले वैशाख ४ गतेदेखि निःशुल्क शिविर सुरु गरेको हो ।

शिविरमा आउने सबै महिलाको स्तनको क्लिनिकल जाँचसमेत गरिने बताइएको छ।प्रारम्भिक जाँचका क्रममा शङ्का लागेमा अल्ट्रासाउन्ड गरिन्छ ।यसपछि मेमोग्राफीका लागि पठाइने डा. लम्सालले बताएकी छन् ।

पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपीभी डीएनए पीसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ ।सुरुको जाँचका क्रममा अवस्था हेरेर अल्ट्रासाउन्ड गरिन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिने स्वास्थ्यकर्मीहरुको भनाई छ।

बायोप्सीको रिपोर्टमा केही देखिएन भने १ वर्षसम्म फलोअप गर्न सुझाव दिइन्छ । रिपोर्टबाट सेकाउँदा (थर्मोक्वागुलेसन) उपचार हुन सक्ने देखियो भने प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउे तर सेकाएर नहुने अवस्थाको उपचारका लागि अस्पतालहरूमा सिफारिस गरिने बताइएको छ ।

शिविरको पहिलो दिन राष्ट्रिय सभा गृहमा जनप्रतिनिधि र महिला कर्मचारीको जाँच गरिएको थियो । त्यस दिन ७२ जनाले जाँच गराएका थिए । उनीहरुमध्ये एचपीभी डीएनए पीसीआरमा ५ जनामा पोजेटिभ देखिएको छ । प्रारम्भिक जाँचबाट शङ्का लागेपछि ८ जनाको स्तनको, १५ जनाको पाठेघरको अल्ट्रासाउन्ड र १ जनाको मेमोग्राफी गरिएको थियो । १३ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।

वैशाख ५ र ६ गते वडा नं। ३१ भीमसेनगोलामा रहेको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा शिविर सञ्चालन गरिएको थियो।२ दिनमा २१३ ले स्वास्थ्य जाँच गराए ।उनीहरुमध्ये १७७ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

परीक्षणका क्रममा ५ जनाको स्तनको, ३४ जनाको पाठेघरको अल्ट्रासाउन्ड र ४ जनाको मेमोग्राफी गरिएको छ ।उनीहरुमध्ये ५९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको तथ्याङ्क छ ।

वडा नं। २५ र २७ लाई लक्षित गरेर बैशाख ७, ९ र १० गते ३ दिन इनबहालमा शिविर गरिएको थियो ।३३९ जनाले परीक्षण गराएकोमा २७३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ ।११ जनाको स्तनको,४४ जनाको पाठेघरको अल्ट्रासाउन्ड गरिएको छ ।६९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या भएको पाइएको छ ।

वैशाख ११ र १२ गते वडा नं। ३ महाराजगञ्जमा सञ्चालन भएको शिविरमा पहिलो दिन १२३ जनाको परीक्षण गरिएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।३४ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको बताइएको छ।

दोस्रो दिन १७५ जनाले स्वास्थ्य जाँच गराएका थिए ।जाँच गराएकामध्ये १४३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण भएको थियो ।२३ जनाको पाठेघरको र ४ जनाको स्तनको अल्ट्रासाउन्ड भएको थियो ।

प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने,पाठेघरको मुखको सङ्क्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरू देखिएका छन् ।