काठमाडौं । हिजो सोमबार सम्पन्न भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सम्मेलनमा ८ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीले सहभागिता जनाए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशी भट्टका अनुसार नेपाल लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन सफल भएको छ।तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी,उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो रहेको उनको भनाई छ ।
आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन)का ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको सम्मेलनमा लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको बोर्डले जानकारी दिएको छ।
विश्व बैंक,चीन,भारत,कुवेत,युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त व्यक्त गर्दै दिगो विकास पहलहरूलाई समर्थन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको बताइएको छ।लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौताहरु भएका छन्।
नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षिय सहकार्यसम्बन्धी समझदारी भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स,मलेसिया बीच द्विपपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग सहकार्यका लागि सम्झौता भएको छ ।
सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप हङकङबीच वेलनेस रिसोर्ट तथा होटल व्यवसायमा सहकार्य सम्बन्धी सम्झौता भएको छ।कपिलवस्तुको गोरुसिंघेमा १०० मिलियन युआन लगानी (जग्गाबाहेक) मा यो परियोजना प्रस्तावित भएको बोर्डका सिइओ भट्टले जानकारी दिनुभएको छ।
मुगु जिल्लाको रारा ताल क्षेत्रमा लक्जरी रिसोर्ट निर्माणका लागि लगानी गर्न एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडबीच सम्झौता भएको छ।नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी)र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बोर्डले उल्लेख गरेको छ।
सम्मेलनका क्रममा ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको छ।
विप्रेषण आप्रवाहको रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाईड्रो परियोजना संचालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरु बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
यसका साथै तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत् विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ।विभागले आजै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत् विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटनसमेत गरेको छ।
सम्मेलन स्थलमा सरकारी निकाय,निजी क्षेत्र,अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू,दातृ निकायका २३ वटा प्रदर्शनी कक्ष राखिएका थिए ।
