
पोखरा । फेवातालको मापदण्ड घटाउन ताल किनारका जग्गाधनीहरुले सर्वोच्च अदालतमा रिट दिएका छन् ।
ताल किनारका २२ जना जग्गाधनीहरूले ६५ मिटरबाट ३० मिटरमा मापदण्ड कायम गर्न माग गर्दै रिट दायर गरेका हुन् । सर्वाेच्चको यसअघिको आदेशले नागरिकको उठीबास लाग्ने भन्दै ताल किनारका बासिन्दाले सर्वोच्च गुहारेका हुन् । यसअघि सर्वाेच्चले २ पटक सम्म तालको मापदण्ड ६५ मिटर कायम राख्न आदेश दिएको थियो ।
सर्वोच्चले २०७५ सालमा पनि तालको मापदण्ड ६५ मिटर रहने निर्णय गरेको थियो । पछि २०७८ चैतमा पोखरा महानगरको कार्यपालिका बैठकले ३० मिटरमा झार्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध पनि सर्वोच्चमा रिट परेको थियो । सो रिट उपर फैसला गर्दै सर्वोच्चले पुनः तालको मापदण्ड ६५ मिटर नै राख्न भनेको थियोछ । किनारका सबै ठाउँमा एकै मापदण्ड लगाउन नहुने जग्गाधनीको तर्क छ ।
