फुञ्जोद्वारा छिटो सगरमाथा आरोहणको किर्तिमान कायम

काठमाडौं । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले कम समयमा नै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन्।

वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी हुन् ।

बिहीबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेकी थिइन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण सुरु गरी बिहीबार बिहान ६ः२३ बजे सगरमाथाको टुप्पोमा पुगेकी थिइन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरेको कार्यालयले जनाएको छ ।

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन्। पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी थिइन् ।

यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए।

फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आएकी छन्। उनले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनासलु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आएकी हुन्।

पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसकेकी छिन्।