आज गणतन्त्र दिवसः टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सांस्कृतिक कार्यक्रमको सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले गणतन्त्र दिवस–२०८१ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरेको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले मार्चपास गरेका थिए भने नेपालको कला र संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।