काँग्रेसद्वारा संसदीय छानबिन समिति बनाउन भएको सहमति अनुमोदन

काठमाडौं । नेपाली काँग्रेसले सहकारी रकम ठगी तथा अपचलनसम्बन्धि संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ ।

आज संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।

काँग्रेसलगायत संसद्‍मा प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमबार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहकारी अपचलन सम्बन्धि कार्यादेशमा पनि सहमति भएको जानकारी दिए ।

लेखकले समग्र सहकारीको बारेमा कानुनी र संस्थागत प्रबन्धको अनुगमन, उचित मूल्यांकन हुने कुरामा विशेष जोड दिनुपर्ने बताए ।