कर्णाली प्रदेशको कुल बेरुजु २२ अर्बभन्दा माथि

सुर्खेत । कर्णालीमा प्रदेश र स्थानीय तहको गरी कुल बेरुजु २२ अर्ब ७५ करोड ७३ लाख ६४ हजार बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।

महालेखा परीक्षक प्रमुख तिलक परियारलाई बुझाएको आर्थिक वर्ष आव २०७९–८० को प्रतिवेदन अनुसार गत वर्ष प्रदेश सरकारको ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको हो । सो बेरुजु लेखा परीक्षण गरिएको कुल बजेटको २।५९ प्रतिशत हो ।

महालेखा परीक्षकको कार्यालयले गत वर्ष प्रदेशका मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयदेखि समितिहरूको गरी १५५ वटा निकायको ३७ अर्ब ३३ करोड ६८ लाख ०७ हजारको लेखा परीक्षण गरेको थियो ।

महालेखाका अनुसार गत वर्षसम्म कर्णाली प्रदेशको ४ अर्ब ३४ करोड १५ लाख ८५ हजार बेरुजु थियो ।

अहिले एक अर्ब ३७ करोड ९० लाख ४९ हजार बेरुजु फर्स्यौट गरिएको छ । गत आवको ९६ करोड ७७ लाख ५२ हजार समेत अद्यावधिक भई अब कर्णालीको कुल बेरुजु ३ अर्ब ९४ करोड ८२ लाख ५४ हजार रहेको छ ।