
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उमरावतीदेवी यादवले विद्यमान संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताएकी छन्।
‘सांसदसँग रासस संवाद’का क्रममा उनले अहिलेको संसदीय अभ्यास क्रमशः परिपक्व दिशातर्फ उन्मुख भइरहेको प्रतिक्रिया दिइन्।नेत्री सिंहले भनिन्,“संसद्मा बेलाबखत हुने अवरोध अन्त्य गर्दै लैजानुपर्छ,देशको शासन व्यवस्थाका लागि योगदान दिएका प्रमुख राजनीतिक दल मिलेर काम गर्नुपर्छ।हामीले जनताका सुख, दुःखमा साथ र सहयोग गर्नुपर्छ।”
निर्वाचित सांसदले जनताको पक्षमा नै काम गर्नुपर्नेमा जोड दिँदै उनले संसद् तथा सरकारले जनताका समस्या तथा गुनासालाई सम्बोधन गर्छ भन्ने विश्वास दिलाउनुपर्ने बताइन्।लामो समयसम्म बञ्चितीकरणमा परेका वर्ग तथा समुदायलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले राज्यको मूलप्रवाहमा ल्याएको उनको भनाइ छ।
जिल्लाका जनताले खासगरी विकास र कानुन निर्माणको पाटो दुवैमा उत्तिकै चासो दिएर प्रश्न सोध्ने गरेको बताउँदै उनले पछिल्लो समय मतदाताले बजेट र विकासका माग र मुद्दालाई प्राथमिकतामा राख्न सुझाव दिएको सुनाइन्।
तराई मधेस कृषि उब्जनीको दृष्टिकोणबाट उर्वर रहेको जनाउँदै सांसद यादवले कृषि क्षेत्रका समस्या समाधानका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
