
सुर्खेत । शनिबार दिउँसो पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसीको शव फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले उनीहरूको शव डुबेको स्थानभन्दा केही तल फेला परेको जानकारी दिए ।
