साउनको अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

२५ साउन,काठमाडौँ। साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँच लागेको छ।

बिहान वर्षा भइरहे तापनि वर्षाकै बीच श्रद्धालुहरू पूजा आराधना तथा दर्शनका लागि पशुपतिनाथ मन्दिर क्षेत्रलगायत विभिन्न शिवालयहरुमा पुगेका छन्।

भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर, दाङको धारपानी लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि भक्तजनहरू वाग्मती नदी किनारस्थित सुन्दरीजलमा जम्मा भएका छन्।

प्रत्येक वर्ष साउनको सोमबार सुन्दरीजलमा जम्मा भई स्नान गरेर शुद्ध कपडा लगाई पशुपतिनाथमा जल चढाउने परम्परा रहेको छ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।