
२५ साउन,काठमाडौँ। काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गत साउन २२ गते नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेहरूमा देशका विभिन्न जिल्लामा घरभइ हाल नयाँ बसपार्क बस्ने ३१ वर्षीय युवा, गोंगबु बस्ने ३३ वर्षीय युवा ,नयाँ बसपार्क बस्ने ३३ वर्षीय युवा र ३१ वर्षीय युवा रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले ७ थान मोबाइल, ५७ हजार ९६ रुपैयाँ नगद, २ थान ताल्चा र १ थान ह्याक्सो ब्लेडसमेत बरामद गरेको छ ।
साउन २२ गते दिउँसो वनस्थली क्षेत्रमा लुटपाट गरी फरार भएका उनीहरूलाई घटनाको केही समयभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
