
२६ साउन,काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर ९नेपाल नजिक० तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको कारण देशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेश,कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
देशको हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
उता रातिसमेत सोही अनुसारको मौसमको सम्भावना रहेको छ ।
