मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

जमुना धमला

काठमाडौं । मनसुन भित्रिएको एक साता हुँदा पनि अझै मनसुन देशको पूर्वी भू–भागमा सीमित रहेको छ । मनसुन औसत समयभन्दा तीन दिन छिटो अर्थात जुन १० मा नेपाल  भित्रिएको थियो ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विनु महर्जनका अनुसार यस वर्ष मनसुन नेपाल प्रवेश गर्दा नै कमजोर भएर प्रवेश गरेको थियो । त्यसैले देशभर फैलिन केही ढिलो भएको हो । ‘अहिले को अवस्थालाई हेर्दा मनसुन कहिले देशभर फैलिन्छ भन्न सक्दनैँ । तर क्रमिक रुपमा विकसित हुने क्रममा छ’, उनले भनिन् ।

पश्चिमी भू–भागमा पश्चिमी वायु नै बलियो अवस्थामा रहेकाले पूर्वी भू–भागमा नै धेरै दिन मनसुन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको  थियो ।

विभागले यस वर्ष मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जनाएको छ ।नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मानिन्छ ।

सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श निकालेर कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।