
काठमाडौं।शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन्।
मंगलबार शिक्षा मन्त्रालय सम्हालेको सय दिन पुरा भएको अवसमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने दाबी गरेकी हुन्।
सो पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आफ्नो सास भएसम्म शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने नीति लागू गर्न पहल गरिरहने बताइन्।अहिलेसम्मको कार्यप्रगति सन्तोषजनक नभएपनि यसले गतिलिएको र सबैको साथ र सहयोगले यस प्रकारको पहलले सार्थकता पाउने आशा जाहेर गरेकी छन् ।
शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षणमा असर पुग्ने भन्दै उनले मन्त्रालयले निर्वाचन आयोगसँग दलमा आबद्ध शिक्षकहरूको तथ्याङ्क माग गरिरहेको बताइन्।साथै उनले अहिलेसम्म ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको पनि जानकारी दिइन्।
सय दिनसम्मा ४५ जना शिक्षकविरुद्ध उजुरी परेको,४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको जानकारी दिंदै उनले भनिन्, ‘शिक्षा विधेयक कहिलेसम्म आउँछ भन्ने यकिन नभए पनि शिक्षा विधेयक व्यवस्थापिकाको समितिमा छलफलमा रहेको र चाँडै ल्याउन सरकारलाई मौखिक र लिखित रूपमा आग्रह गरिएको छ ।उच्च शिक्षामा उच्च पदाधिकारी नियुक्तिको लागि कार्यविधि तथा मापदण्ड बनाएर काम गरिएको छ।’
उनले अहिलेसम्म त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य र भिषीहरुको नियुक्ति प्रकृया अगाडि बढाइएको, सरकारले शिक्षाका उच्च अधिकारी नियुक्तिमा राजनीतिक भागबन्डाको आधारमा नभएर योग्यता र क्षमताको आधारमा नियुक्ति गर्ने प्रावधान विकास गरिएको,शिक्षा क्षेत्रमा राजनीतिक भागबण्डाको आधारमा नभई मेरिडको आधारमा पठाउने पद्धति विकास गर्ने काम भएको स्पष्ट पारिन्।
यस्तै सो पत्रकार सम्मेलनमा उनले मुलुकको क्षिक्षा क्षेत्र सुधारको लागि विभिन्न समयमा भएका अनियमितामा आयोगहरूले गरेको प्रतिवेदन खोल्ने,अनुसन्धान प्रक्रियाको थालनी भएको,उच्च शिक्षा क्षेत्रमा सुधार गर्न वार्षिक कार्यतालिका अनुसार काम गर्ने व्यवस्था मिलाईएको र शिक्षक मिलान दरबन्दीको लागि अध्ययन सुरु जस्ता कार्यहरु भएको जिकिर गरिन्।
