धितोपत्र बोर्डको अध्यक्ष पदको प्रक्रिया रद्द हुने सम्भावना

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पदको प्रक्रिया रद्द हुने सम्भावना देखिएको छ । बुधबारका लागि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि तीनैजना उम्मेदवारलाई बोलाइए पनि उनीहरु फेरि अनुपस्थित भएपछि रद्द हुने सम्भावना देखिएको हो ।

स्रोतका अनुसार ९ बजेका लागि बोलाइएको अन्तर्वार्तामा उनीहरु अनुपस्थित भएका थिए । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भएका थिए ।

बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए ।

सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् ।