कास्की । कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्न रोक लगाइएको छ।
शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीले एक सार्वजनिक सूचना जारी गर्दै यस प्रकारको अनाधिकृत कार्य बन्द गर्न सचेत गराएको हो ।यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीराम रिजालले कानून विपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले रोक लगाएको बताएका छन् ।
उनले भने,‘अनधिकृत रूपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ । प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौँ।’गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवा वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली २०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन।
नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ।
साथै यातायात कार्यालयले नै सार्वजनिक सवारीका लागि भाडा तोक्ने गर्छ। तर हाल सञ्चालनमा रहेका इन्ड्राइभ लगायतका सवारीसाधनले भने आफैँ एप बनाएर भाडादर पनि आफैँ लागू गर्ने गरेका छन्।
‘नियमवली बनेपछि मापदण्ड नबन्दा गण्डकी प्रदेशमा राइड सेयरिङ सेवालाई नियमन गर्न सकिएको छैन’, कार्यालय प्रमुख रिजालले भनेका छन् ।
