
सीता पौडेल (अर्चना)
काठमाडौं ।संघिय राजधानी काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ७ मा अवस्थित स्वीजरल्याण्ड पार्कको वास्तविक नाम ‘छापेचौर’ नै कायम गरिने भएको छ।

शनिबार वडाले वडा भित्रका विभिन्न धार्मिक,सांस्कृतिक,ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको प्रचार–प्रसार गरि पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको ‘पदयात्रा’कार्यक्रममा वडा अध्यक्ष लामाले सो कुरा उल्लेख गरेका हुन् ।

पदयात्रामा उनले सो ‘छापेचौर’लाई स्वीजरल्याण्ड पार्क नभनेर यसको वास्तविक नामबाटै चिनाउन प्रयास गरिएको उद्घोष गरे।साथै उनले यस स्थानलाई ‘छापेचौर’कै नामले प्रचार प्रसार गरिदिन आमसञ्चार माध्यम,पत्रकार,स्थानीयवासी लगायत अवलोकन भ्रमणमा आउने सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन्।

पदयात्राका क्रममा सगरमाथाप्रेस डटकमसँग कुरा गदै उनले ‘छापेचौर’ सहित यहाँका अन्य पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरेर भरपुर आनन्द लिने र सम्पदाहरुको संरक्षण,विकास र प्रवद्र्धन गरि व्यापक प्रचार प्रसारसँगै पर्यापर्यटनमा टेवा प¥याउने उद्धेश्यले गरिएको पदयात्राले छापेचौरलाई स्थापित गर्न मद्दत पु¥याउने आशा व्यक्त गरे।
‘यसको बास्तविक नाम नै ‘छापेचौर’ हो।यहि वास्तिविक नामले नै चिनाउने प्रयास हामीले गरिहेका छौ । तपाइँहरुले प्रचार प्रसारमा समेत सहयोग गर्न आग्रह गर्दछु।’ उनले भने।‘स्वीजरल्याण्ड आयातित नाम हो, यो आगन्तुक शब्द हो।यस भूमिको वातस्तविक नेपाली नाम ‘छापेचौर’ हो।तसर्थ हामी यसलाई ‘छापेचौर’ कै नाममा स्थापित गर्न चाहन्छौं।’अध्यक्ष लामाले भने।

करिब २४ रोपनी क्षेत्रफलमा पूर्वपश्चिम लम्बाईमा फैलिएको सो चौरमा विभन्न पिकनिक स्थलहरु रहेका छन। ‘छापेचौरमा’ पिकनिकमात्र नभएर घुम्न,वा टहलीन आउनेहरुको दिनहुँजसो नै भीड लाग्ने गर्छ।यहाँबाट वरपरको सुन्दर हरियालीसँगै प्राकृतिक मनोरम दृश्य अवलोकन गर्नुका साथै काठमाडौै उपत्यकालाई पनि सजिलै नियाल्न सकिन्छ।

अवलोकनकर्ता पाहुनाका लागि सधैं खुल्ला रहने यस चौरमा पारिवारिक तथा संस्थागत पिकनिक,साथीभाई जमघट,शैक्षिक भ्रमण,नयाँ वर्ष,विभिन्न किसिमका उत्सव मनाउन,फोटोग्राफीमा रुचि राख्नेहरुले सुन्दर दृश्यलाई कैद गर्दै फोटो र भिडियो खिच्ने जस्ता जस्ता प्रयोजनार्थ निकै भीड लाग्ने गरेको छ।अन्य दिनको तुलनामा शनिबार र सार्वजनिक बिदाको दिन बढी भीड हुने गरेको अध्यक्ष लामाले बताए।
यस ठाउँमा काठमाडौंका स्वयंभु,सितापाइला,कलंकी लगायतका विभिन्न स्थानबाट सजिलै पुग्न सकिन्छ।छापेचौर कलंकी चोकबाट साढे छ किलोमिटर र सितापाइला चोकबाट ९ किलोमिटरको दुरीमा रहेको छ।

हाल छापेचौरको स्तरोन्नतीका लागि काम भइरहेको छ ।यहाँ यहाँ ६० मिटरको पोलमा ३० फिट लम्बाईको झण्डा राख्ने तयारी भएको वडा अध्यक्ष लामाले जनकारी दिएका छन् ।
हरियाली वनजंगल र सफा र स्वच्छ हावापानी,जंगल र सल्लाघारीको बीचबाट सुन्दर बाटो (पदमार्ग र पीच सडक दुबै )अनि प्राकृतिक सौन्दर्यले भरिपुर्ण मनोरम दृश्य।यसको अवलोकन गर्दै ‘छापेचौर’ पुग्नेहरुलाई यहाँको सुन्दरताले मन लोभ्याउने त छँदै छ।सधैं आइरहुँ र यही सुन्दर प्रकृतिको काखमा बसिरहुँ जस्तो गरि जो कोहीलाई मोहित बनाउने गर्दछ।

