
सीता पौडेल(अर्चना)
काठमाडौं । ‘आफू भन्दा माथि सेवा’( Service Above Self) भन्ने रोटरीको आदर्शलाई आत्मसात् गर्दै आएको सामाजिक संस्था ‘रोटरी क्लब अफ काठमाडौं नर्थ’ को रोटा वर्ष २०२४–२५का अध्यक्ष(प्रेसिडेण्ट)पिताम्बर पौड्याल(प्रितम)ले औपचारिक रुपमा पदबाहली गरेका छन् ।
शनिबार क्लबको ३१ औं पदस्थापना दिवसको अवसरमा काठमाडौंको लाजिम्पाट स्थित होटल शंकरमा आयोजित एक समारोहमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटन अन्तर्गतका रोटरी डिष्ट्रिक्ट गभर्नर नोमिनि (डिजीएन) विष्णु बहादुर कार्कीले अध्यक्ष पौड्याललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।सपथ ग्रहणलगतै उनलाई डिजिएन कार्की र निवर्तमान अध्यक्ष (आइपिपि)सुवास घिमिरेले चाटर प्रमाणपत्र,माला(कोलार),ग्रावेल र ह्यामर प्रदान गरि पदस्थापना गराएका थिए ।

पदबाहली पछि अध्यक्ष पौड्यालले क्लबको १३१६ औं नियमित बैठक सञ्चालन गरेका थिए।बैठकमा अध्यक्ष पौडेलले समाजिक समस्या न्युनिकरणमा रोटरीको महत्वपूर्ण भूमिका रहने भन्दै आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउन सहयोग गर्न सबै पदाधिकारी तथा सदस्य लागायत डिष्ट्रिक प्रतिनिधिहरुलाई अनुरोध गरे।साथै उनले रोटरीले गर्ने सामाजिक सेवा परियोजना कार्य सफल पार्न क्लबका पूर्वअध्यक्षहरु,निवर्तमान अध्यक्ष,सिनियर रोटरीयन सदस्यहरु लगायत क्लबका सम्पुर्ण पदाधिकारी र सदस्यहरुको ठूलो योगदान रहने भन्दै आफ्नो कार्यकालमा पनि आवश्यक मार्गनिर्देशन सहित उचित सहयोगको अपेक्षा राखेको बताए।

बैठकमा अध्यक्ष पौड्यालले आफनो नेतृत्वमा क्लबलाई थप चलायमान बनाउन प्रभावकारी तवरबाट बैठक सञ्चालन गर्ने र सदस्यहरुको सक्रिय सहभागितामा घनिभूत छलफल गरेर रोटरी इन्टरनेशनलले तय गरेका सामाजिक विकासका विभिन्न ७ क्षेत्रहरुलाई केन्द्रमा राखी सेवा परियोजनाहरु सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे । उनले यसरी सञ्चानल गरिने सो सेवा परियोजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि डिष्ट्रिकले निर्धारण गरेका लक्ष्यहरुलाई पुरा गर्ने गरि क्लबले पनि सोही अनुसारका आफ्नो लक्ष्य निर्धारण गरेको बताए ।

उनले भने,‘यस रोटा वर्षमा मैले रोटरीले जोड दिँदै आएको शिक्षा,स्वास्थ्य,खानेपानी,वातावरण जस्ता विभिन्न ७ क्षेत्रलाई प्राथमिकतामा राखेर तत्काल सेवा परियोजनाहरु सञ्चान गर्ने तयारी गरेका छौं। थप विभिन्न क्षेत्रका धेरै सामाजिक सेवा परियोजनाहरु सञ्चालन गर्ने छौं । यसमा क्लब र डिष्ट्रिकको पनि आवश्यक सहयोग रहन्छ भन्ने मैले विश्वास लिएको छु ।’ समारोहमा उनले आफ्नो कार्यकालका बोर्ड पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
हेर्नुहोस् रोटा वर्ष २०२४–२५ का बोर्ड सदस्यहरुको सूचि:-


सो स्थापना दिवसको अवसरमा उक्त क्लबमा २ जना सदस्यहरुले नयाँ सदस्यता लिएको मेम्बरसीप कमिटि निर्देशक उत्तम खड्काले जानकारी दिए।साथै,समारोहमा अध्यक्ष पौड्यालले नयाँ सदस्य द्धय डिल्लिरमण अधिकारी र राजेन्द्र न्यौपानेलार्ई पनि सपथ ग्रहण गराएको क्लबका पूर्व अध्यक्ष तथा सर्भिस प्रोजेक्ट कमिटि निर्देशक गौतम खनालले जानकारी दिए।समारोहमा पूर्व अध्यक्ष द्धय उत्तम खड्का र गणेश पौडेलले नयाँ सदस्यहरुको विस्तृत विवरणसहित परिचय प्रस्तुत गरेका थिए।


उक्त समारोहमा निवर्तमान अध्यक्ष सुवास घिमिरेले आफ्नोे कार्यकाल अर्थात गत रोटा वर्ष २०२३–२४ मा क्लब सर्भिस,भोकेशनल सर्भिस, कम्युनिटि सर्भिस र ग्लोबल ग्रान्टका माध्यमबाट गरिएका थुप्रै सामुदायिक सेवा परियोजनाहरुको सलाइड सो प्रस्तुत गरेका थिए।साथै उनले रोटरीयन भएर समुदायमा समस्याम परेका मानिसहरुको जीवनको गुणस्तर सुधारमा केही सहयोग गर्न पाएकोमा खुशी र आत्मसत्तुष्टी प्राप्त भएको बताए ।साथै निवर्तमान अध्यक्ष घिमिरेले रोटरीले जोड दिंदै आएका सामाजिक विकासका विभिन्न ७ क्षेत्रहरुमा सामाजिक सेवा परियोजनाका जुनसुकै कार्यहरुमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

समारोहमा प्रमुख अतिथि डिजीएन कार्कीले रोटरीले गर्ने सामुदायिक सेवा परियोजनाले रोटरीयनहरुलाई सामाजिक हितमा संलग्न गराएर जिम्मेवार नागरिक बन्ने अवसर प्रदान गर्ने र मानवीय समस्याहरु समाधान गर्न मद्दत पुग्ने बताए।क्लबले गरेका सामाजिक कार्यहरुको प्रसंसा गर्दै डिजीएन कार्कीले सामाजिक कार्य गर्न रोटरी बुझेर आबद्ध भएका सदस्यहरुको क्लबमा महत्वपूर्ण भूमिका रहने भन्दै जिम्मेवार सदस्यहरुको संख्या बृद्धि गर्नु पर्ने बताए।
जिम्मेवार वा सच्चा रोटरीयनहरुले नै विभिन्न किसिमको प्रभावकारी सामाजिक सेवा परियोजनाहरु सम्पन्न गरेर समाजको हितसँगै रोटरीको छवीलाई उच्च पार्न सक्ने हुँदा सोही अनुसार गुणस्तरीय क्षमता र दक्षता भएका सदस्यहरुको संख्या बृद्धि गर्नु पर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा निवर्तमान असिस्टन्ट गभर्नर(एजी) भुवन कुमार श्रेष्ठ र वर्तमान एजी अरुण शेरचनले रोटरीको महत्वर र क्लबले गरेका कार्यहरुको मुक्त कण्ठले प्रसंसा गर्दै सो क्लबले गर्ने सामाजिक सेवा परियोजनाहरुमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा फष्ट लेडी सीमा तिवारी, डिष्ट्रिकका अन्य प्रतिनिधिहरु,क्लबका पूर्व अध्यक्षहरु तथा सदस्यहरु, ४ वटै रोट¥याक्ट क्लबका अध्यक्षहरु,इन्ट¥याक्ट क्लबका प्रतिनिधिहरु,आरसिसीका प्रतिनिधिहरु,रोटरीयन स्पाउजहरु लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।



