
सीता पौडेल(अर्चना)
चितवन। चितवनको भरतपुरमा अवस्थित ऐतिहासिक ‘दियालो बंगला दरबार’ सर्वसाधारणको लागि खुला गरिएको छ।आइतबार संस्कृति,पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले रिबन काटेर उक्त दरबार सर्वसाधारणको लागि खुला गरिएको घोषणा गरेका हुन्।
उद्घाटनपश्चात मन्त्री तामाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्त्वपूर्ण सहयोग पुर्याउने आशा व्यक्त गरे ।चितवन धार्मिक,सांस्कृतिक,ऐतिहासिक दृष्टिकोणले भरिपूर्ण भएको भन्दै उनले दियालो बंगलामा सर्वसाधारणको पहुँच हुँदा यस ऐतिहासिक दरबारको परिचय चुलिने उनको भनाई छ।
उक्त दरबार नेपाल ट्रस्ट र भरतपुर महानगरसँगको समन्वययमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको छ।नेपाल ट्रष्टको ९० लाख र भरतपुर महानगरको २० लाखको लागतमा दरबारको मर्मत तथा सरसफाइ र विभिन्न पूर्वाधारहरु तयार गरिएका छन्।
मन्त्री तामाङले पूर्व राजाहरूले पूर्व पश्चिम र राज्यको सबै ठाउँमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको यस दरबारमा नागरिकलाई अध्ययन तथा अवलोकनका लागि खुला गर्न जरुरी रहेको बताए।कायक्रममा उनले यसले आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धनमा सहयोग पुग्ने र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने विश्वास लिएको स्पष्ट पारे ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दियालो बंगला सर्वसाधारणका लागि खुला गरिएको र वन्यजन्तु उद्धार केन्द्रलाई ‘ओपन जु ’ को रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिइन ।
साथै उनले यस क्षेत्रमा भारतीय पर्यटकलाई सहज आगमनको लागि ठोरी –छोटी भन्सार सञ्चालनमा ल्याइएको बताइन ।महानगरले अन्य पर्यटकीय गन्तव्यहरू पनि क्रमशः थप गर्दै जाने उनको भनाई छ ।

नगर प्रमुख दाहालका अनुसार २०८२ चैतसम्म महानगरले यसको व्यवस्थापन लिने गरी सम्झौता गरेको छ । तर पुनः म्याद थप गरेर काम गर्न सकिने प्रावधान भएका कारण महानगरले जिम्मा लिन नचाहे मात्र ट्रस्टले लिन सक्ने हुन्छ ।बंगलालाई अध्ययन अनुसन्धान तथा संग्रहालयको रुपमा विकास गर्ने उद्देश्य राखिएको छ ।सो दरबार एक प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास लिइएको बताइएको छ।
सन् २०१९ मा निर्माण गरिएको भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबार ट्रस्टको स्वामित्वमा छ ।यसलाई तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए।भने,यही दरबारमा हृदयघातबाट उनको निधन भएको थियो ।
राजा महेन्द्रले करिब दुई वर्षसम्म यस बंगलाको भोगचलन गरेको बताइएको छ ।विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्ने गरेका हुनाले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरेको पाइन्छ।

करिब ५२ बिघा क्षैत्रफलमा नारायणी नदीको किनारमा धार्मिकस्थल देवघाटको नजिकै जंगलै जंगल फैलिएको यो दरबारको ६ बिघा ३ कट्ठा जग्गा भने नारायणगढ मुग्लिन सडकखण्डको दायाँतर्फ छ ।एकान्त ठाउँमा रहेको दरबार क्षेत्र वरपरको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ ।उत्तरतर्फ राजाहरू तथा परिवारका सदस्यहरूको स्वीमिङ पुल छ । अहिले यो जीर्ण बनेको छ ।नजिकै त्यसलाई छेक्न पर्खाल बनाइएको छ ।
यद्यपि दरबार खुला गरिएको भनिए पनि सर्वसाधारणले अहिले नै भित्र गएर अवलोकन गर्न भने केही समय कुर्नु पर्ने महानगरका इन्जिनियर साकार लामाले बताएका छन् ।
