
बागलुङ । बागलुङको जैमिनीमा बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् ।
जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखिन्। उनले भनिन्, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ ।
बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न । ” काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, “पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको उनले बताए ।
यसरी बाँदरले दुःख दिन थालेपछि जैमिनी नगरपालिकाले बाँदर व्यवस्थापनको लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको जनाएको छ ।तर योजना अझै पनि कार्यान्वयनमा आउन सकेको छैन ।
