बैतडीका बाढी विस्थापित ७० परिवार घर फर्किए

बैतडी । भारी वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् ।

सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए ।

हाल बाढी जोखिम कम भएसँगै उनीहरु घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । उनले भने, “सेती नदीमा जलसतह बढ्दा बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते ढुङ्गाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।

स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरु हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन् ।”