
चितवन । नारागणगढ(मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ ।
भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शनिबारदेखि खोजतलासका लागि घटनास्थल आइपुगेको हो ।खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो ।
छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेको बताए । टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उनले बताए ।खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथासक्य छिटो खोजतलासको काममा जुट्ने बताए । उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताए ।
धमिलो र उच्च वहाबका नदीमा खोजतलास कार्य भारतमा गरेको भन्दै उनले यहाँ काम गर्न सकिने बताए ।सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर शनिबार चितवन आइपुगेको हो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका छन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको यादवले जानकारी दिए ।
ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने जानकारी दिए । टोली सात दिनसम्म रहने उनको भनाइ छ । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।
यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।
