गोरखाको धार्चेमा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता

पोखरा । गोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ ।

पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भैसकेको र बाँकी हराएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३ जना अझै पहिरोमै छन् ।

‘एउटा गोठ हो । अर्को घर कि पसल भन्ने खुलेको छैन,’ उनले भने, ‘पहिरोमा ५ जना परेका र २ जनाको जीवितै उद्धार भएको भनिएको छ ।’ उद्धारका लागि गोरखा लाप्राक र माछाखोलाबाट प्रहरी टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।