
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिक देखि साधारणतया बदली रही मधेश प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मंगलबार अर्थात भोली देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
