
काठमाडौं । कक्षा १२ ग्रेड वृद्धि मौका परीक्षा आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड उत्तीर्ण भएका छन् ।
दुई विषयमा एनजी नन ग्रेडेड आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ । सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागिता जनाउन पाउनेछन् ।
परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ ।एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ ।
