
नारायणगढ । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् । बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ ।
भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको उपचार गरिएको छ ।उनीहरुको उपचारमा सफलता प्राप्त भएको उनले बताए । यस वर्ष साउन महिनाको हालसम्ममा अस्पतालमा ७६ सर्पदंशका बिरामीको उपचार गरिएको छ । प्रमुख मियाँले भने, “नवलपुरका एक बालककोे उपचारका लागि ल्याउँदै गर्दा बाटोमे मृत्यु भयो ।
अस्पताल आइपुग्न ढिला हुँदा कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।” यहाँ गोमन, करेतलगायत जातका विषालु सर्पले डसेका बिरामी बढीजसो उपचारका लागि आउने गरेका छन् । सर्पले डसेर आएका बिरामीलाई उच्च निगरामी राखेर उपचार गरिने उनले बताए । अकास्मिक कक्षबाटै सर्पदंशको उपचार सेवा दिइँदै आएको छ ।
