आज भोटो देखाइएर मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न गरिदैं

२० साउन,काठमाडौं ।वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथजात्रा आज आइतबार भोटो देखाइएर सम्पन्न गरिदैं छ।

ज्योतिषीहरूले निकालेको साइतअनुसार रातो मच्छिन्द्रनाथको बिहीबार जावलाखेल पुर्याइएपछि आइतबार भोटो देखाउने कार्यक्रम तय भएको हो । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा,मोती,मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइने छ ।

प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन् ।यसरी भोटो देखाएपछि करिब तीन महिनादेखिको जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ ।

छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङ्मतीमा राख्ने चलन छ ।यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा हो । करिब एक हजार ६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ ।

रथलाई बिहीबार जावलाखेल पुर्याइएको थियो।

कसरी सुरु भयो भोटोजात्रा

मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले बहुमूल्य गहना र हीराजडित भोटो पाएको किंवदन्ती छ।यसरी उपहारस्वरूप किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले ।

खोजी गरेर कहीँकतै नपाएका ती किसानले रातो मच्छिन्द्रनाथको जात्रामा आउँदा एक राक्षसले लगाएको देखेर ‘यो भोटो मेरो हो’ भनेर दाबी गरेको किंवदन्ती छ, यसरी दाबी गर्दा दुईजनाबिच व्यापक विवाद हुनपुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेनन् ।

सो विवाद राजासमक्ष पुर्याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रूपमा मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती छ ।

सोहीअनुसार हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा ‘यो भोटो कसको हो ?’ भनी देखाउने जात्रा सुरु भएको थियो । सोहीअनुसार कसैले पनि दाबी गर्न नआएपछि प्रत्येक वर्ष भोटो देखाइने प्रचलन छ ।

भोटोजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीगण संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू आइतबार अपराह्न जावलाखेल पुग्ने कार्यक्रम छ ।

भोटो जात्राको अवलोकनपछि राष्ट्रपतिले जीवित देवी कुमारीको दर्शन गर्ने परम्परा छ।भोटो जात्रासँगै परम्परागत बाजागाजा,गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ । मीननाथको रथ तानेर ललितपुरको टङ्गलमा पुर्याइनेछ।

काठमाडौै उपत्यकामा अनावृष्टि भएपनि गुरुजु बन्धुदत्त आचार्य सल्लाहअनुसार राजा नरेन्द्रदेवले भारतको कामरुपकामाक्षा (आसाम)बाट मच्छिन्द्रनाथ काठमाडौंमा ल्याइएको इतिहास छ ।