वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइत सम्मानित

२० साउन, काठमाडौं।ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई अभिनन्दन गरेको छ ।

सभामुख देवराज घिमिरेले शनिबार काठमाडौंमा आयोजित समारोहमा उनलाई अभिनन्दन गरेका थिए। ताप्लेजुङको ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उनी सफल भएको भन्दै आँखा उपचारका क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप अभिनन्दन गरिएको हो ।

डा. रुइत न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा चिनिएको विषय अभिनन्दन पत्रमा उल्लेख छ।

उनले  यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदक लगायत विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन् ।