
२२ साउन,नवलपरासी।बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ।
बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ।“गाउँको शिरमा भिर छ।त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँभरिको पिर छ।
पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन”, उनले भने।हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ।केरुङ्गेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य भएका छन्।हुप्सेकोट गाउँपालिका वडा नं ५ को राम्चेगाउँ पहिरोको उच्च जोखिममा छ।
गाउँ नजिकै बर्सेनि सानाठूला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीयहरू बताउँछन् । राष्ट्रिय पहिरो भनेर चिनिने राम्चे पहिरो विसं २०३८ मा काउले बस्ती नै विस्थापित हुनेगरी गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले बताए। “पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको छ।
बर्खामा मात्र होइन,हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ”,उनले भने,“राम्चेवासी बर्खामा मात्र होइन,अन्य समयमा पनि रातदिन त्रासमा बाँच्नुपरेको छ।”
पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन्।तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन्।बाजेबराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन्।
