
२२ साउन, चितवन । नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ ।
ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो । गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ ।नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने रु एक अर्ब १३ करोड ६४ लाखमध्ये रु ५७ करोड भुक्तानी गरिएको छ ।
पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको रु ४० करोडभन्दा बढी काम गरेको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।आयोजना सबै सम्पन्न गर्न रु तीन अर्ब ९५ करोड खर्च हुन्छ । हालसम्म रु दुई अर्ब भुक्तानी गरिएको छ ।
निर्देशक साहले भने, “यस आर्थिक वर्षको असार मसान्तसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने छ, तर बजेट छैन ।” चालु आवका लागि विनियोजन गरिएको रकम गत वर्षको भुक्तानीमा गइसकेकाले यस वर्ष काम गर्नका लागि बजेट नभएको उनको भनाइ छ ।
उनले भने, “चालु आवमा ठेक्काअनुसार काम सम्पन्न गर्न कम्तीमा रु एक अर्ब ९५ करोड आवश्यक छ ।” तटबन्ध गरिएका क्षेत्रमा नदीले कटान नसकेको जनाउँदै उनले यही अवस्थामा निर्माण कम्पनीलाई काम लगाउन आफूले नसकेको उनले बताए।आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन् ।तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छ भने अर्को एउटाको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए।
नवलपरासीतर्फ छ वटा ठेक्कामध्ये एउटा सम्पन्न भएको छ ।यसै आयोजनाले काम गरेको कयरखोलाको दुईवटा ठेक्का सम्पन्न भए पनि भुक्तानी बाँकी छ ।
आयोजनाले नदीको चितवन र नवलपरासीतर्फ रु चार अर्ब ७२ करोड अर्थ मन्त्रालयबाट विसं २०७८ मङ्सिरमा स्रोत सुनिश्चितता गरेर त्यसलगत्तै विभिन्न खण्डमा ठेक्का लगाएको उनले बताए ।
दुई जिल्लामा गरी ११ वटा प्याकेजमा ठेक्का लगाइएको थियो । चितवनतर्फ पाँच र नवलपरासीतर्फ छ प्याकेजमा ठेक्का लगाइएको थियो ।
