तनहुँमा हलगोरु पाल्ने किसानलाई अनुदान

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई रु १३ लाख ८० हजार अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप उक्त रकम उपलब्ध गराइएको हो ।

उक्त कार्यक्रमबाट तीन सय ४५ हलगोरु पाल्ने किसान लाभान्वित भएका गाउँपालिकाको पशु सेवा उपशाखाका प्रमुख डा विनयकुमार शाहले जानकारी दिए । उनका अनुसार प्रतिहलगोरु रु चार हजार अनुदान दिने गाउँपालिकाको नीतिअनुसार तीन सय ४५ किसानलाई उक्त रकम उपलब्ध गराइएको छ । यस कार्यक्रमका लागि सुरुमा रु १० लाख विनियोजन गरिएकामा रकम अपुग भएपछि बाँकी रकम रकमान्तर गरिएको शाहले बताए ।

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिएको उनको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएको भन्दै उक्त रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई सुझाव दिए। आव २०७९र८० मा दुई सय ५० किसानलाई अनुदान उपलब्ध गराइएको थियो । प्रोत्साहन रकम पाएपछि हलगोरु संरक्षणमा सहयोग पुग्ने भन्दै किसान खुसी भएका छन् ।