
२५ साउन, सोलुखुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरीका पशी शेर्पा विगतमा लामखुट्टेबाट सार्ने रोगको जोखिममा परेका छैनन् । उनलाई लामखुट्टेको टोकाइबाट रोग लाग्छ र सर्दछ भन्ने जानकारीसम्म छैन। तर, पछिल्लो दुई वर्षदेखि सल्लेरीमै लामखुट्टेबाट सार्ने रोगको जोखिम बढ्न थालेपछि उहाँ चिन्तित हुन्छन् । उनले भने, ‘म गाउँ छोडेर अन्यत्र गएको छैन । पछिल्ला वर्षमा लामखुट्टे देखिन थालेको छ ।’
विशेष गरी गर्मीका समयमा भित्रि मधेश, पहाडी क्षेत्रमा देखिने लामखुट्टे अहिले उच्च हिमाली भेगमा पनि विस्तारै फैलिदै गएको छ । सल्लेरी सहितका क्षेत्रमा अहिले लामखुट्टेको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । सुरु सुरुमा यातायातका साधन मार्फत भित्रिएका लामखुट्टे यहीको वातावरणसँग घुलमिल हुँदा र हिमाली क्षेत्रमा तापक्रम निरन्तर उकालो लागेसँगै गर्मी ठाउँमा मात्रै बाँच्न सक्ने लामखुट्टे हिमाली भेगमा देखिन थालेको सल्लेरीका केबी घिमिरेले बताए ।
उनले भने, ‘यहाँको तापक्रम बढ्दै गएको छ, सल्लेरीमै पनि घाम लागेको बेला निक्कै गर्मीको महसुस हुन्छ, हिउँदमा हिउँ पर्न नै छोडिसक्यो, अनि लामखुट्टे त फैलिहाल्छ नि।’सल्लेरीमा अहिले तापक्रम २५ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने गरेको हावापानी मापन केन्द्र सल्लेरीका मापनकेन्द्र सहयोगी नवराज पराजुलीले बताए । उनका अनुसार सल्लेरीको तापक्रम बिहान र बेलुका नै २२र२३ डिग्रीसम्म तापक्रम पुग्ने गर्दछ ।वर्षेनी यहाँको अधिकतम तापक्रम निरन्तर बढ्दै गइरहेको उनको भनाइ छ । यसका कारण लामखुट्टेको संख्या समेत बृद्धि भएको बताइएको छ ।
