अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबिच भेट

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् ।

शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन लागेकोमा खुसी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउँदै पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।