
काठमाडौं । थामे गाउँमाथि रहेको दुई वटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा पोखरी उच्च जोखिममा रहेको जनाएको हो ।
बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा टोली उक्त ठाउँमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भने ‘साना पाँचवटा ताल रहेछन्, त्यसमध्ये दुई वटा ताल फुटेको रहेछ । अरू दुई वटा उच्च जोखिममा छन् । एउटा भने सुरक्षित छ।’
शुक्रबार दिउँसो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा पानीको बहाव बढेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ ।
