म्याग्दी । मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो ।
जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा आज जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।
जात र गुणको आधारमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको छ”, उनले भने, “स्याउ पाक्ने बित्तिकै टिपेपछि बजारको समस्या हुँदैन र किसानले मूल्य पाउँछन ।”
अघिल्ला वर्षमा मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्ने गरिएको थियो । कृषक कर्म गुरुङले तापक्रम वृद्धिका कारण यसपालि स्याउमा छिटो गुलियो पसेकाले टिप्ने समय अघि सारिएको बताए ।
अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।
