श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना

१३ भदौं,काठमाडौं।काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

प्राविधिक विश्लेषण प्रतिवेदनका अनुसार गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिएका छन्।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्रतिवेदनका आधारमा जरिवाना गरिएको अधिकृत झाले बताए।

तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) हरुको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको छ।सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको छ।उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थको प्रयोग म्याद भन्दा कम देखिएको महानगरपालिकाले जनाएको छ।

तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन,रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन नसकेको,कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिडर (एसओपी) को अभिलेख पनि नपाइएको र यसो हुनुको अर्थ गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) नभएको उनको भनाई छ।