पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

१९ भदौ,काठमाडौं।न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनपछि भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ।

अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन शुरु भएको थियो।

सो कानूनलाई राज्य विधानसभाले पारित गरेको बताइएको छ । तर राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी भएको जनाइएको छ ।

कानूनले बलात्कारका लागि सजायलाई वर्तमानको १० वर्षदेखि आजीवन जेल वा मृत्युदण्डसम्मको सजाय तोकेको छ।

चिकित्सकको हत्यापछि चिकित्सकहरूले हडताल गरेर भारतभर हजारौँ सर्वसाधारणले समर्थनमा जुलुस निकालेका थिए।

पश्चिम बङ्गालमा विरोध प्रदर्शनहरू सत्तारूढ अखिल भारतीय तृणमूल कांग्रेस (एआइटिसी) र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा( सहित प्रतिद्वन्द्वी राजनीतिक दलका वफादारहरूबीच झडपमा परिवर्तन भएको थियो।

भाजपा राष्ट्रियस्तरमा सत्तामा भए पनि पश्चिम बङ्गालमा विपक्षमा छ। भाजपा र एआइटिसी दुवैले राज्य कानूनलाई समर्थन गरेका छन्। —एजेन्सी