२३ भदौ,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्न समय ननिकालेको तर नेपाल भने जतिबेला पनि तयार रहेको बताएका छन् ।
उनले छिट्टै बुझ्नेमा आफू आशावादी रहेको पनि बताएका छन्।
शनिबार सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले ईपीजी पनि आफू र भारतीय प्रधानमन्त्री मोदीको सल्लाहमा नै बनेकाले त्यो प्रतिवेदन बुझ्नेमा आशावादी रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘हामी बनाउने नै मान्छे,उहाँ (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) पनि छानिएर आउनुभएको छ।म पनि छानिएर आएको छु।दुईवटै प्रधानमन्त्री त्यही ईपीजी निर्माण गर्नेहरु नै छौं ।त्यो अगाडि बढ्ला।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिवेदन बुझ्न नेपालका प्रधानमन्त्रीले समय दिन सक्ने तर अहिलेसम्म भारतले समय दिन नसकेको समेत स्पष्ट पारे।
‘अब यता नेपालतिर त नेपालको प्रधानमन्त्रीहरु फुर्सदमा नै देखिन्छन्।म पनि यहाँ पुस्तक विमोचन गरेर हिंडेको छु। ईपीजीको रिपोर्ट बुझ्नै नभ्याउने त के हुन्छ र, हामीहरुले चाहिं बुझ्न नभ्याएको छैन ।तर भारत तिरबाट अलिकति भ्याइराखेको स्थिति छैन’ उनले भने।
प्रधानमन्त्री ओलीले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्धि गर्ने काम गर्न नहुने जिकिर गरे।उनले भूराजनीति नेपालीका लागि कुनै कमजोरीको विषय बन्न नहुने र नबन्ने दावी पनि गरेका छन्।
नेपाल र भारत दुई देशबीचका समस्या समाधान गरी सरकारलाई सिफारिस गर्न दुवै देशका ४–४ जना रहेको प्रबुद्ध व्यक्ति समूह गठन भएको थियो।उक्त समितिले प्रतिवेदन तयार पारिसकेको छ।
प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीलाई र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो।तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिएका छैनन्।
