
२३ भदौं,काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका विरुद्ध फेरि एउटा थप संघर्ष आवश्यक भएको जिकिर गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयास विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको जिकिर गरेका हुन् ।
क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको भन्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताएका छन् ।
उनले भने, ‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं’ ।‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो,त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ। त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।’
प्रचण्डले भने, ‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौं–गणतन्त्र त अब आउँछ नै,तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौं।त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौं’
‘अब राजनीतिक त्यतै जाँदैछ। दलाल पूँजीपति र नोकरशाहीहरुसँग संघर्ष सुरु भएको छ।जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ।’उनले भने।
नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध संघर्ष अपरिहार्य रहेको माओवादी अध्यक्ष प्रचण्डको भनाई छ ।
