काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

४, असोज काठमाडौं । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

दसैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनले भने, “मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौँमा ल्याउने तयारीमा छौँ ।” सोही योजनाअनुसार अहिले काठमाडौँमा बिग्रिएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको छ । बर्खा याम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ ।