नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री

८, असोज काठमाडोैं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले नेपालले प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा राणाले सोमबार न्युयोर्कमा महिला राजनीतिक नेताहरुको एक उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै बिगत सम्झँदा निकै कहालीलाग्दो अवस्था भएपनि पछिल्ला बर्षहरुमा नेपालले यस क्षेत्रमा प्रगति गरिरहेको बताइन् ।

उनले भनिन् “सबैभन्दा पहिला त खुसीको कुरा म के सुनाउन चाहन्छु भने नेपालको वर्तमान संविधानले महिलाको प्रजनन् अधिकार र सुरक्षित मातृत्वको विषयलाई मौलिक हकअन्तर्गत नै राखेको छ ।

संविधानको मौलिक हकमा यो व्यवस्था राख्ने एसियाका थोरैमध्यको नेपाल पनि एक देश हो । महिलालाई दिइएको प्रजनन अधिकारका क्षेत्रको यो सबैभन्दा बलियो कानुनी प्रावधान हो भन्ने मलाई लाग्दछ ।”

बिगतमा असुरक्षित गर्भपतनका कारण नेपालका कैयौँ महिलाको ज्यान जाने गरेको, उनीहरु कानुनी कारबाहीको भागिदार बन्नुपरेको र कैयौँ महिला जेल पर्ने गरेको प्रसङ्ग पनि उनले सुनाइन्।