चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्न ७६ वटा मोटरसाइकलमा प्रहरी परिचालन गरिने

११, असोज काठमाडौं। काठमाडौँ प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने निर्णय गरेको छ ।

अनुसन्धानमा आवश्यक सामग्रीले सुसज्जित ७६ वटा ‘ई–क्यूआरटी’ टोली परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

उनले भने– ‘घटनाको सूचना पाएपछि सबैभन्दा पहिले पुग्ने क्यूआरटी टोलीसँग भएको क्यामेराले खिच्ने गतिविधि कन्ट्रोल रुमबाट मनिटर गर्न सकिन्छ ।’ चाडपर्व अवधिभर २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा योजना लागू गरेको छ ।

काठमाडौँ जिल्लालाई १४ वटा एरियामा विभाजन गरेर डीएसपीको कमान्डमा १० जनाको टिम परिचालन गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व सुरक्षाका लागि ३ दिनको लङ रुट पट्रोल र १ दिने सर्ट रुट पट्रोल गरिने एसपी नवराज अधिकारीले जानकारी दिए ।